कांग्रेस रामेछापले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई गर्यो सम्मान (फोटोफिचर)

| भदौ १७, २०७९ शुक्रबार

A A A
A A A

१७ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । आज शुक्रबार पूर्व मन्त्री एवं पार्टी केन्द्रिय सदस्य रमेश लेखकको प्रमुख आतिथेतामा पार्टी कार्यालय वीपी स्मृती भवन मन्थलीमा भएको पार्टी प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको पार्टी प्रवक्ता नारायण बोगटीले जानकारी दिए ।

 

उनका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा निर्वाचित वडा अध्यक्ष, सदस्य, पालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिहरुलाई प्रमाणपत्र तथा खादामालाले सम्मान गरेको हो । 


अन्य राजनीतिक दलहरुले केही महिना अगाडिनै सम्मान गरेपनि कांग्रेस आन्तरिक विवाद्मा फसेकाले केही पछि परेको नेताहरु बताउछन् । अहिले भने विवाद् मिलेसंगै पार्टी आगामी मंसिर ४ गते हुने स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा लागेको छ । योसंगै जिल्लामा कांग्रेसले आन्तरिक तयारी बढाएको बोगटीले बताए । उनले भोली शनिबार जिल्ला कार्यसमिति बैठक बस्न लागेको जानकारी दिए । यो बैठकले दुई प्रदेश सभाले सिफारिस गरेर पठाएका उम्मेद्वारहरु माथि छलफल गरि निर्णय गर्ने छ । 

 


कांग्रेसले गत वैशाखमा भएको स्थानीय निर्वाचनमा जिल्लामा २४ वटा वडा अध्यक्ष जितेको छ । कांग्रेसले जिल्लामा रामेछाप नगरपालिकामा प्रमुख, उपप्रमुख, गोकुलगंगामा अध्यक्ष, उपाध्यक्ष, उमाकुण्ड र दोरम्बा शैलुङ्मा उपाध्यक्ष–उपाध्यक्ष, लिखु तामाकोशीमा अध्यक्ष जितेको छ । स्थानीय आवश्यकताको आधारमा गठबन्धन् गरेर चुनाव लडेको कांग्रेस जिल्लामा पहिलो पार्टी भएको छ ।