‘म काम गर्न आएकी हुँ, भत्ता बुझ्न मात्रै हैन, नमुना काम गर्ने योजनामा छु’- प्रमुख खड्का

१ असोज, रामेछाप । जिल्ला समन्वय समिति (जि.स.स) रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले आफू भत्ता बुझ्नकै लागि मात्रै नेतृत्व तहमा नआएको बताएकी छन् । विगत ५ वर्षमा समन्वय समितिबाट हुनु पर्ने काम १० प्रतिशत पनि नभएको उनको भनाई छ ।
शनिबार जिल्ला सदरमुकाम मन्थलीमा आयोजित रामेछाप जिल्ला सहकारी संघ लिमिटेडको पाँचौं वार्षिक साधारण सभामा बोल्दै प्रमुख खड्काले आफू निर्वाचित भएर प्रमुखको कुर्चीमा पुग्दा कर्मचारीले यस कार्यालयको खासै काम हुँदैन, तपाई अब, यो जिल्लाकै सबै भन्दा ठूलो मान्छे हुनुहुन्छ । तपाईलाई जिल्लाका न्याधिसहरुले पनि उठेर सम्मान गर्नु पर्छ । तपाई त, अब सबैले गरेका कामलाई यसो हेर्ने हो । अनुगमन गर्ने हो । भत्ता बुझ्ने हो । तपाई त, अब यहाँ बसिबसि भत्ता बुझ्ने हो भने’ प्रमुख खड्काले सुनाइन् । यसरी कर्मचारीको कुरा सुनेर आफू चकित परेको स्मरण गर्दै प्रमुख खड्काले अब त्यो दिनको अन्त्य भएको जिकिर गरिन् । अब त्यो दिन गयो, मैले कर्मचारीलाई पनि भनिसके, भत्ता बुझ्नकै लागि म, यो ठाउँमा बसिरहदिँन । म, काम गर्न आएकी हुँ । काम गर्छु ।’
यो संस्थाको काम के-के रहेछ र आफूले के-के गर्न पाउने रहेछु भन्ने विषयमा अहिले छलफलमा रहेको उनले बताइन् । ‘म अहिले हामीले गर्ने कामका बारेमा जानकारी लिदैछु । यसै सन्दर्भमा मैले फाइल पनि तयार पारी सकेको छु ।’ आफू कामै नगरी सित्तैमा भत्ता नलिने निर्णय गरिसकेको उनले सुनाइन् ।
जिल्लामै पहिलो महिला समन्वय प्रमुख बनेकी खड्काले महिला महिलाहरु हरेक क्षेत्रमा काम गर्न सक्षम रहेको विश्वास ब्यक्त गरिन् । उनले यो ५ वर्ष जिल्ला समन्वय समितिबाट जतिकाम हुनु पर्ने हो । त्यसको १० प्रतिशत पनि काम नभएको बताइन् । ५ वर्ष बित्यो तर, तर यहाँबाट हुनु पर्ने १० प्रतिशत काम भएको छैन् । काम गर्न त खोजेको देखिन्छ । तर, कर्मचारीले साथ नदिदाँ रहेछन् खड्काले भनिन् ।