प्रदेश सभा सदस्य चौलागाईले भेटे प्रचण्डलाई, के मुख्य मन्त्री बन्छन् त ?
१४ मंसिर, रामेछाप । रामेछाप प्रदेश सभा २ ‘ख’ बाट बागमती प्रदेश सभामा एमालेका उम्मेदवारलाई हराउँदै फराकिलो मतान्तर सहित निर्वाचित भएका माओवादी केन्द्रका पोलिट् ब्युरो सदस्य एवं विदेश विभाग प्रमुख युवराज चौलागाईले पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई भेटेका छन् । सोही पार्टीबाट प्रदेश सभा सदस्यमै बिजयी भएका अर्का तारानारायण श्रेष्ठ भने प्रचण्डलाई भेट्न पुगेका छैनन् ।
हिजो मङ्गलवार मात्रै जिल्लाबाट निर्वाचन सकेपछि काठमाडौँ गएका प्रदेश सांसद चौलागाईले आज बुधवार ‘प्रचण्ड’ निवास खुमलटार पुगेर भेटघाट गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी इन्चार्ज श्यामकुमार श्रेष्ठ ‘कुशल’, पार्टी नेता एवं सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ, निवर्तमान दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, भर्खरै सम्पन्न निर्वाचनको समानुपातिक तर्फकी उम्मेदवार लगायत एक दर्जन बढी नेता कार्यकर्ता सहित सांसद चौलागाई अध्यक्ष प्रचण्डको निवासमा पुगेका हुन् ।
अब बन्ने प्रदेश सरकारको मुख्य मन्त्रीको प्रमुख दाबेदार मानिएका चर्चा चलेका युवराजले चुनावी नतिजा आइनसकिँदै प्रचण्डलाई भेट्नुलाई अर्थ पूर्ण तरिकाले हेरिएको छ । ‘भेटमा बधाई साटासाट गरिएको चौलागाईले भनेका छन् ।’
यसअगाडि रामेछाप टाइम्सले तपाई प्रदेशको मुख्य मन्त्री बन्ने चर्चा छ के हो ? भन्ने प्रश्नमा उनले पार्टी नेतृत्वले दिने जिम्मेवारी जस्तो पनि लिन तयार रहेको उनले बताएका थिए ।
त्यस्तै जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले पनि रामेछापबाट निर्वाचित एक जनालाई प्रदेशमा मन्त्री वा मुख्य मन्त्री बनाउने बचन दिएका छन् ।
चौलागाई पार्टीबाट प्रदेश भरीकै सबै भन्दा फराकिलो मतान्तरले जित हाँसिल गर्ने नेता सांसद समेत बनेका छन् । उनले बागमती प्रदेशमा सबै भन्दा धेरै मत २२ हजार ९ सय ७९ मत पाएका थिए ।
नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उनले एमालेका उम्मेदवार मिलन घिसिङलाई ४७ सय ७३ मतान्तरले हराएका थिए ।