शैक्षिक, भौतिक र व्यवस्थापकीय क्षेत्रमै अब्बल ‘नमुना’ मावि मन्थली : फलफूल र तरकारीबाट लाखौंको आम्दानी गर्दै (फोटोफिचर)

| मंसिर २६, २०७९ सोमबार

A A A
A A A

२६ मंसिर, रामेछाप। रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयले फलफूल तथा तरकारी खेतीबाट आम्दानी गर्न थालेको छ । विद्यालयले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रयोगातमक कार्यहरूमा सङ्लग्न गराउन थालेपछि विद्यालय क्षेत्रभित्र बेला बखतमा रोपेका फलफूलले फल दिन थालेपछि विद्यालयको आम्दानीको स्रोत बन्न पुगेको हो ।

 

सरकारी विद्यालयमा राम्रो र गुणस्तरीय शिक्षा हुँदैन भन्ने आम मानिसको धारणालाई चिर्न सफल यो विद्यालयले विगत् केही वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । ‘नमूना’का लागि अग्रसर यस विद्यालयले, विद्यालय परिसरभित्र पर्ने जग्गामा केरा, अनार, एभोकाडो, अमला, आँप, लिची, जुनार र सुन्तला जातका एक हजार भन्दाबढी फलफूलका विरुवाहरू रोपेको थियो । जसले अब उत्पादन दिन थालेका छन् ।

साथै विद्यालयलाई प्राकृतिक सुन्दरता र हराभरासहित आर्थिक स्रोत बन्न थालेको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहलले रामेछाप टाइम्ससँग बताए । उनले भने ‘फूर्सद्को समयमा रोपेका फलफूलका बिरुवाबाट अब आम्दानी सुरु भएको छ । फलफूल र तरकारी नियमितरूपमा विक्री भैरहेका छन् ।’ 

यतिखेर विद्यालयले प्लाष्टिकका टनेल बनाएर दुईवटा टनेलहरूमा आधुनिक तौर तरिकाले विगत् १ वर्षदेखि तरकारी खेती समेत गरेको छ । जहाँबाट सिजनमा तरकारी र यतिखेर प्याजका बिरुवाहरू विक्री गर्न थालिएको छ । कक्षा ः ६ देखि ८ सम्म अध्यापन हुने पेसा, व्यावसाय र सीप विषय अन्तर्गत सो तरकारी खेती गरिएको सोही विषय हेर्ने शिक्षक भरतप्रसाद सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

विद्यालयका शिक्षक, शिक्षिकाहरूले जन्म दिनको अवसर पारेर र सार्वजनिक विदाका दिनहरूमा तथा वातावरण दिवसलगायत अन्य दिवसहरूको विशेष अवसरमा विद्यार्थी र शिक्षकहरूको सामूहिक क्रियाकलाप स्वरूप यसरी बिरुवाहरू रोपिने गरेका छन् । तत्कालीन समयमा सुख्खाग्रस्त क्षेत्र यो विद्यालय परिसर अहिले हरियाली बन्न थालेको छ । विद्यालय परिसर अहिले हरियाली र सुन्दर बन्ने बाटोमा अगाडि बढेको हो ।


करिब पाँचसय बोट केरा, दुई सय बोट आँप, एक सयबोट अनार लगायतका फलफूलका बिरुवा रहेका छन् । गत सालदेखि नै आँप फलेका थिए । विद्यार्थीहरूले टिपेर खाए । यो पटक आँप पनि बेच्ने गरी संरक्षण गदैछौं शैक्षिक प्रमुख तथा सहायक प्रधानाध्यापक चन्द्रसिँह धामीले बताए ।


तरकारीको लागि मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस परिसरमा दुईवटा टनेलबाट उत्पादन भैरहेको हो । जसले यो आर्थिक वर्षमात्रै एक लाख बढीको आम्दानी भएको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक प्रदीपराज सुवेदीले रामेछाप टाइम्सलाई बताए । उनले थप प्रकाश पार्दै आगाडि भने ‘यसपालि मात्रै धनियाँ, गोल्भेडा, प्याज र साग लगायतका तरकारीबाट एक लाख बढीको आम्दानी भयो । यो हाम्रालागि खुसीको कुरो हो ।’ 

 

प्रधानाध्यापक दहालले फलफूल र तरकारी खेतीले आम्दानी दिने क्रम सुरु भएको सुनाउँदै भने ‘गत सालदेखि नै हो उत्पादन राम्रो छ । फाइदा त छैन तर, आम्दानी भैरहेको छ । यसले, मेहनत गर्यो भने, हुने रहेछ भन्ने कुराको पुष्टि भएको छ । केराको बगैँचा भएको छ । अहिले दैनिक जसो विक्री हुन्छ । विद्यालय परिवारले गरेको यो मेहनतको फल अब आगामी दिनबाट, आँप, लिची जस्ता धेरै फलफूल फल्ने तयारीमा छन् । मन्थलीका दुईवटा होटल र एक फलफूल पसलले हाम्रो उत्पादन लिने गरेका छन् खुसी हुँदै दाहालले भने ।’

 

‘सुख्खा पाखोलाई हरियाली बनाउने मेरो सपना साकार हुँदैछ । सुरु सुरुमा मलाई कतिले पागल, बौलायो पनि भने, दिमाग खुस्केको पनि भने तर, मैले कसैको प्रर्वाह गरिन निरन्तर लागि रहेँ – यो ठाउँलाई हरियाली बनाउन । अहिले त्यो पूरा हुँदैछ’ शैक्षिक प्रमुख तथा सहायक प्रधानाध्यापक चन्द्रसिँह धामीले हामीसँगको एक प्रश्नको उत्तरमा भनेका छन् ।    

तरकारीसँगै विद्यालय परिसर र सँगै रहेको क्याम्पस वरिपरि ढपक्कै फूलैफूलले ढकमक्क बनेको छ –फूलबारी । सुन्दर तरिकाले विद्यार्थीहरूको लागि ‘ब्रेक टाइम’ मा राउने बगैँचाको रूपमा स्थापित हुँदै गरेको रङ्गी बिरङ्गी फूलहरूले विद्यालयको माथिल्लो भाग सुन्दर भएर ढाकेको छ । जसको सुन्दरतामा विद्यार्थीहरू रम्ने र अध्ययन गर्ने गरेका छन् । 


विद्यालयका पूराना जीर्ण भवनहरूलाई भत्काएर धमाधम नयाँ भवन बन्दै गरेको यो विद्यालयको हाल ७५ रोपनी भन्दामाथि जग्गा आफ्नै छ । कक्षा १० सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा कक्षा १२ सम्म दुई हजार ३० जना विद्यार्थीहरू नियमिति रूपमा अध्ययनरत रहेका छन् । 


‘विद्यालयको आफ्नै शैक्षिक क्यालेन्डर रहेको छ, जसनुसार वर्षका ४ वटा मूल्याङ्कन गरेर ग्रेडसिट दिने परीक्षाहरू व्यवस्थित रुपमा र हरेक महिना मासिक तथा उपचारात्मक कक्षाका लागि हरेक साता एउटा–एउटा विषयको परीक्षा लिएर कक्षाः ५, ८, १० र १२ लाई परीक्षा तयारी पूर्व कक्षा लिइने गरिएको’ जानकारी परीक्षा प्रमुख सुरेन्द्रबहादुर केसीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

यसैगरी विद्यालयले २ जना सुरक्षा गार्डको समेत व्यवस्था गरेको छ । ‘समय समयमा विद्यालयमा ट्राफिक शिक्षा, कानुनी साक्षरता कक्षा, अभिभावकको कक्षागत नियमित भेला र स–साना तालिमहरूको आयोजना गर्ने गरिएको’ जानकारी अनुशासन प्रमखु शिक्षक टंकराज सुवेदीले बताए । 


विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय अवस्था नगरपालिका भित्र रहेका १९ वटा अन्य सामुदायिक माध्यमिक विद्यालयहरूको तुलनामा अब्बल रहेको साथै गत वर्षको एसइई परीक्षामा सबैभन्दा धेरै सामुदायिक विद्यालयबाट ए प्लस ल्याउने विद्यालय समेत यही मावि भएको एक अध्ययनबाट पुष्टि हुन्छ ।

 
‘यो विद्यालयमा नियमित तथा गुणस्तरीय अध्ययन अध्यापनका अलावा विभिन्न प्रकारका खेलकुद, योगध्यान, स्काउटका गतिविधि, एन्सिसीको तालिम र नैतिक शिक्षाका सन्दर्भमा समेत नियमित रूपमा प्रशिक्षकहरूबाट सिकाइ हुने गरेको’ विद्यालयका सहायक प्रधानाध्यापक पेशल आचार्यले हामी सँगको कुराकानीमा बताए । विद्यालयमा नेपाल सरकारले एक विद्यालय एक नर्सको कार्यक्रम समेत नियमित रुपमा संचालित छ ।

स्मरणीय छ, सो विद्यालयले आफ्ना विद्यार्थीहरूलाई पठनपाठनका लागि यातायात सेवा प्रदान गर्नका लागि तीनवटा स्कुल बसहरूको समेत व्यवस्था गरेको पाइएको छ । यसरी हेर्दा विद्यालयले सिभिल सब ओभरसियर र इलेक्ट्रिकल सभ ओभरसियर १८ महिने र ३ वर्षे सिभिल डिप्लोमा कार्यक्रम सञ्चालन गरी जिल्लामा प्राविधिकतर्फ तीनवटा कार्यक्रमहरू साथै शिशुकक्षादेखि कक्षा ः १२ सम्म अङ्ग्रेजी र नेपाली माध्यममा शिक्षा समेत दिँदै आएको छ । सो विद्यालयमा कक्षा ः ११÷१२ मा निःशुल्क अध्ययन गर्न पाइने व्यवस्था समेत रहेको बताइएको छ । 

 

हाल सो ‘विद्यालयको विज्ञान समूहका कक्षा ः ११ मा १६ जना र कक्षा ः १२ मा ४० जना विद्यार्थीहरू निःशुल्क अध्ययन गरिरहेको’ ‘प्लसटु’का इन्चार्ज हरिविक्रम बुढाथोकीले बताए । ‘यहाँबाट प्लसटुमा विज्ञान विषय अध्ययन गरेका शतप्रतिशत विद्यार्थीहरूले जिल्ला भित्र र जिल्ला बाहिर रोजगारी पाएको विद्यालयको भनाई छ । ‘यही नै हाम्रा लागि गौरवको विषय हो’ –उनले भने । 

 

‘विद्यालयमा १९ वटा विभिन्न विभागहरु क्रियाशील रहेका छन् भने यहाँ शिक्षक, प्रशिक्षक, कर्मचारी, नर्स, सुरक्षा गार्ड, चालक र आया समेत गरी कूल ७४ जना स्टाफहरू कार्यरत रहेको’ जानकारी प्रअ टंकप्रसाद दहालले दिएका छन् । 

 

यो विद्यालयमा जिल्ला भित्र र जिल्ला बाहिरबाट समेत वर्षेनी दर्जनौं विद्यालयका टोलीहरु अध्ययन भ्रमणका लागि आउने गरेको (प्रअ) दहालले हामीसँगको एक कुराकानीमा बताएका छन् ।

तस्बिरहरु हेर्नुहोस् । तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स