शैलुङमा नवनिर्मित ‘ज्याङछ्युव छ्योर्तेन’को उद्घाटन (फोटोफिचर)

| फागुन १७, २०७९ बुधबार

A A A
A A A

१७ फागुन, रामेछाप । रामेछाप र दोलखाको सिमानामा पर्ने  पर्यटकीय क्षेत्र शैलुङमा नवनिर्मित ‘ज्याङछ्युव छ्योर्तेन’को उद्घाटन गरिएको छ । सङ्घीय राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शैलुङमा निर्मित छयोर्तेनले पर्यटक वृद्धिमा टेवा पुग्ने विश्वास लिएको छ । 

 

करिब ३ करोडको लागतमा निर्माण गरिएको उक्त छ्योर्तेनमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धका मूर्तिहरूको लामा गुरु क्याब्जे सेचेन रव्ज्याम रिन्पोक्षे र टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे लगायतले बौद्ध धर्मका मन्त्रोच्चारण गरी भव्य पूजापाठ सहित उद्घाटन गरिएको हो । 

 

रामेछाप र दोलखाका प्रमुख राजनीतिक दलका नेता तथा सांसद, मन्त्री, जनप्रतिनिधि, लामागुरू, पत्रकार, सञ्चारकर्मी, बुद्धिजीवी लगाएको उपस्थितिमा निर्मित संरचनाहरूको उद्घाटन गरिएको हो । त्यहाँ पर्यटन पूर्वाधारको रूपमा यस अगाडि ‘भ्यूटावर’ निर्माण गरिएको थियो । तर, त्यसले पनि सोचे अनुसारको प्रतिफल दिन नसकेको गुनासो छ । 

 

रामेछापको पश्चिमी उच्च भाग ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङ टाकुरामा निर्माण भएको उक्त धार्मिक एवं पर्यटकीय संरचनाहरू निकै आकर्षक बनाइएको छ । यसले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै रामेछापबाट निर्वाचित प्रतिनिधिसभाका सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले शैलुङ क्षेत्रको विकासका लागि कार्यक्रम बनाउन आग्रह गरे । त्यसको लागि आफूले सक्दो सहयोग सङ्घीय र प्रदेश दुवैको तर्फबाट गर्ने उनको प्रतिबद्धता थियो । 

 

त्यस्तै बागमती प्रदेश सांसद युवराज चौलागाईले शैलुङको विकासका लागि प्रदेश सरकारबाट आवश्यक योजना तर्जुमा गर्नमा सघाउने बताए । उनले  “शैलुङ क्षेत्र विकास समिति” बनाएर सो क्षेत्रको दीर्घकालीन पर्यटकीय र सांस्कृतिक विकास गर्ने । शैलुङ क्षेत्रमा तत्काल टेलिफोन टावर राखी सहज सञ्चार र इन्टरनेटको पहुँच विकास गर्ने, सो क्षेत्रमा आवतजावत गर्ने कच्ची मोटर बाटोलाई यथाशक्य कालोपत्रे बनाउने र शैलुङ रिङ रोडको अवधारणा विकास गर्नु पर्नेमा जोड् दिए । 

साथै सांसद चौलागाईले शैलुङको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्‍याउनु पर्ने र आन्तरिक र पर्यटक  त्यहाँ पुर्‍याउन जोड् दिनु पर्ने बताए । शैलुङ काठमाण्डौं भन्दा पूर्वी पहाडको सबै भन्दा नजिक पर्ने छ ।  वौद्ध गुरुहरूको तपस्या स्थलको रूपमा रहेको उक्त भूमिलाई धार्मिक पर्यटनको रूपमा हेरिने गरिएको छ ।

तस्बिर सामाजिक संजाल ।