रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीले गरे शपथ एवं पदभार ग्रहण (फोटोफिचर)

| चैत १, २०७९ बुधबार

A A A
A A A

१ चैत, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीले आज बुधवार शपथ एवं पदभार ग्रहण गरेका छन् । साथै आजै निर्वाचित पदाधिकारीको पहिलो बैठक पनि बसेका छन् । संघको सम्पन्न आठौं जिल्ला अधिवेशनबाट नवीन थापा मगरको प्यानलै बिजयी भएको थियो । भने, प्रतिस्पर्धी नवराज ढुङ्गेलको प्यानलै पराजित भएको हो । 

 

संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी वर्तमान कार्यसमितिका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, पूर्वअध्यक्षहरु, श्याम थापा, पशुपति बहादुर खड्का, नारायणदास श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, जिल्ला अदालत रामेछापका श्रेस्तेदार एवं संघको सम्पन्न निर्वाचनका निर्वाचन अधिकृत रामप्रसाद पौडेल, जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर शाह, पत्रकार महासंघका अध्यक्ष बद्री नयाँ घरे, जिल्ला प्रहरी प्रमुख प्रहरी होमबहादुर पराजुली लगायतको उपस्थितिमा अध्यक्ष घिमिरेले गत फागुन २७ गते शनिवार भएको मतदानबाट निर्वाचित भएका अध्यक्ष सहित सदस्य पदाधिकारीलाई पद हस्तान्तरण गरेका हुन् । सो अवसरमा वर्तमान कार्यसमितिका दुई सदस्य (हाल वाणिज्य उपाध्यक्ष र सचिव पदमा निर्वाचित) आकाश रिजाल, यज्ञ सुवेदी र अध्यक्ष घिमिरे मात्रै उपस्थित बने अन्य पदाधिकारी आएनन् । 

 

नवनिर्वाचित अध्यक्ष नवीनकुमार थापा मगरको टिमलाई निर्वाचन अधिकृत रामप्रसाद पौडेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । साथै उनले अध्यक्ष थापामगरलाई शपथ खुवाए । निर्वाचन अधिकृत पौडेलबाट शपथ खाएका अध्यक्ष थापामगरले अन्य पदाधिकारीलाई शपथ खुवाए । 

 

लगत्तै वर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले नवनिर्वाचित थापामगरको टिमलाई संस्थाको सबै जिम्मेवारी प्रदान गरेको घोषणा गरे । उनले पद हस्तान्तर गर्दै भने ‘आजको दिनदेखि मेरो अध्यक्षतामा रहेको संघको सबै जिम्मेवारी नीति र विधिअनुसार, अध्यक्ष, महासचिव सहित सबै पद हस्तान्तरण गरेको छु ।’ आगामी दिनमा व्यवसायीको हितमा काम गर्न आग्रह गर्दै सबैसँग मिलेर जानु पर्नेमा घिमिरेको जोड् छ । 

 

पदभार ग्रहण गर्दै अध्यक्ष थापामगरले सबैसँग मिलेर अगाडि जाने भन्दै सबै व्यवसायी, पूर्वपदाधिकारी, संघ, संस्थाबाट सहयोग पाउने अपेक्षा व्यक्त गरे । उनले निर्वाचनमा हारजित हुँदै भन्दै कसैलाई काखा र पाखाको व्यवहार आफ्नो टिमबाट नहुने प्रस्ट्याए । उनले जिल्लामा व्यवसाय सञ्चालन गर्दाको वर्तमान अवस्थालाई सुधार गर्दै व्यावसायिक र पर्यटकीय क्षेत्रमा सुधार ल्याउनेमा जोड् दिए । साथै मतदाता र निर्वाचन सफल पार्ने सबैलाई धन्यवाद दिए । 

 

 

प्रमुख जिल्ला अधिकारी रेग्मीले निर्वाचित पदाधिकारीलाई कार्यकालको शुभकामना दिँदै व्यवसायी क्षेत्रमा रहेका कमी कमजोरीलाई सुधारेर व्यवसायी र जिल्लाको विकास गर्न, बजारहरूको विस्तार गर्न, गुणस्तरीय र उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्ने गरी काम गर्न आग्रह गरे । त्यसमा हातेमालो गर्न प्रशासन तयार रहेको उनको भनाई थियो । 

 

त्यस्तै पूर्व अध्यक्ष पशुपति खड्काले पनि निर्वाचित टिमलाई बधाई दिँदै संघ सबैको हो बन्ने भावना लिएर काम गर्न सचेत गराए । आर्थिक क्षेत्र डामाडोल भएका कारण व्यवसायीहरू पीडित बनिरहेको अवस्थामा गफ लगाएर मात्रै हिँड्ने छुट् यो समितिलाई नरहेको जिकिर गरेका उनले निर्वाचनबाट जितेपछि  सबैको हुँ भन्ने भाव लिएर काम गर्न सुझाए । कसैलाई बाहिर राखेर काम गर्छु भन्ने, एक्लै हिँड्छु भन्ने दम्भ र घमन्डलाई त्यागेर काम गर्नु उनले सुझाए । 

 

त्यस्तै श्याम थापाले पनि व्यवसायीहरू सबै मिलेर संस्थाको गरिमा बढाउने र व्यवसायीको हितमा काम गर्न सुझाए । सबै खाले व्यवसायी अहिले समस्यामा रहेकाले राष्ट्रिय तथा जिल्ला स्तरमा देखिएका मुद्दालाई समाधानमा केन्द्रित भएर लाग्न आग्रह गरे । निर्वाचन भनेको फूट्बल मैदान जस्तै भएको उल्लेख गर्दै गोल हान्नेहरूले जित्ने र राम्रो खेल्दा पनि केही त्रुटि हुँदा बाहिरिनु पर्ने अवस्था आउने टिप्पणी गरे । 

तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स