स्ववियु निर्वाचन : गठबन्धनतर्फ नेविसंघका विनोद माझीले पाए ‘पपुलरमत’, क्रान्तिकारीका सचिव हारे
६ चैत, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका विनोद माझीले सबै भन्दा बढी ‘पपुलरमत’ पाएका छन् । तर, गठबन्धनकै टिमका सचिवका उम्मेद्वार भने पराजित भएका छन् ।
मानविकी संकयाको दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीय माझीले पपुलरमत पाएर सदस्यमा निर्वाचित भएका हुन् । माझीले नेविसंघबाटै निर्वाचित सभापति अविनाश कार्कीको भन्दा माझीले ११ मत बढी पाएका छन् । सभापतिमा कार्कीले २८६ मत पाउँदा सदस्य माझीले २९७ मत पाएका हुन् । नेविसंघमा सक्रिय मन्थली निवास माझी एक खेल क्षेत्रमा सक्रिय युवा खेलाडी युवा हुन् ।
निर्वाचित भएपछि रामेछाप टाइम्ससंग कुरा गर्दै भने ‘मैले भोट माग्दा प्यानललाई दिनु, मलाई सिङ्गल मात्रै बरु दिनु पर्दैन भनेर मागेको थिए । सबैसँग परिचित भएको कारणले गर्दा मैले पाए । यसमा म, खुसी नै छु ।’
आन्तरिक विषय वस्तु मिलाउने क्रममा आफूहरूले निकै राम्रो कसरत गरेको, पार्टी र सबै मिलेर चुनावमा जित हासिल गरेको उनको भनाई छ । मन्थली नगरबासीनै भएको र क्याम्पसमा पनि जाने भएकाले उनले राम्रो मत पाएको विश्लेषण गरिएको छ ।
स्ववियु नेतृत्वको लागि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) बिच तालमेल गरे जितको सहज भएको उनले उल्लेख गरे ।
गठबन्धनबाट माझी पपुलरमत सहित निर्वाचित हुँदा सोही टिमका अनोज भुजेलले १६७, मनीषा काफ्ले २७६, युवराज बुढाथोकी २७७ र विनीता माझी ले २१८ मत पाएर निर्वाचित भएका छन् ।
यसैबिच गठबन्धनकै टिममा माझीले पपुलरमत पाएर निर्वाचित हुँदा सोही टिममा रहेका अखिल क्रान्तिकारीका सचिव पदका उम्मेदवार तेजबहादुर श्रेष्ठ भने एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुशील थापासँग पराजित भएका छन् । श्रेष्ठ थापासँग १७ मतले हारेका हुन् ।
अनेरास्ववियुका थापाले २६० मत पाउँदा गठबन्धन सहितका उम्मेदवार श्रेष्ठले २४४ मत मात्रै पाएका हुन् । थापा नियमित कक्षमा जाने विद्यार्थी हुन् भने श्रेष्ठ बेलाबखत मात्रै कक्षमा उपस्थित हुने भएकाले विद्यार्थीहरूले क्याम्पसमा पढ्ने विद्यार्थी रुचाएको दाबी गरिएको छ ।