५ करोड बढी लागतमा बन्ने एमाले पार्टी कार्यालय मन्थलीमा शिलान्यास, कुन–कुन स्थानीय तहले कति दिँदै छन् बजेट ?

| जेठ ३, २०८० बुधबार

A A A
A A A

३ जेठ, रामेछाप । नेकपा एमाले रामेछाप ३० औँ मदन आश्रित दिवसको अवसर पारेर पार्टी कार्यालय (मदन आश्रित) भवनको शिलान्यास गरिएको छ । भवनको पार्टीका केन्द्रीय उपमहासचिव विष्णु रिमालले बुधवार शिलान्यास गरेका हुन् । 

 

प्रदेश सांसद समेत रहेका जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रममा बिच उप–महासचिव रिमालले मन्थली स्थित आकाशेमा रहेको मदन आश्रितको नामको जग्गामा भवनको शिलान्यास गरेका हुन् । लामो समयदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको एमालेले भवन निर्माणको थालनी गरेको हो । 

 

पार्टी नेता समेत रहेका रत्न कँडेलको अध्यक्षतामा गठित समिति मार्फत निर्माण हुन लागेको सो भवनको लागत स्टिमेट अनुसार आउँदो दुई वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । ‘कँडेलले रामेछाप टाइम्ससंग भने ‘०८२ साल सम्म सबै निर्माण सक्ने हाम्रो लक्ष्य छ । एक ढलान यो वर्ष । मंसिरमा एक ढलान यसरी थप्दै जाने हो । तीन तले बन्छ ।’

 

उनका अनुसार मिटिङ हल, पार्किङ सहित सुविधा सम्पन्न बन्ने उक्त भवनको मदन आश्रित स्मृति भवन हो जुन एमाले पार्टी कार्यालयको लागि प्रयोग हुने छ । ‘एमाले कै पार्टी भवन हो उहाँको नाममा बस्छ ।’ 

 

५ करोड ३० लाख लागतमा बन्ने उक्त भवन निर्माणको लागि जिल्लाका ७ वटा स्थानीय तहले बजेट दिने भनेर मौखिक बचनबद्ध गरेको कँडेलले खुलाए । ‘दोरम्बा शैलुङ गाउँपालिका बाहेक अरू सबैले सहयोग गर्ने भनेका छन् ।’ स्थानीय तहका जनप्रतिनिधिको नाम लिँदै निर्माण समितिका अध्यक्ष कँडेलले भने ‘मन्थलीले २० लाख यसरी स्थानीय तहले सहयोग, दाताको सहयोग । 

 

रामेछाप टाइम्सलाई उच्च स्रोतले दिएको जानकारी अनुसार  रामेछाप नगरपालिकाले १० लाख, लिखु तामाकोशी गाउँपालिकाले १० लाख, खाँडादेवी गाउँपालिकाले २० देखि २५ लाख, उमाकुण्ड गाउँपालिकाले १० लाख मदन आश्रित स्मृति  भवन निर्माणको लागि दिने मौखिक बचन दिएका छन् । त्यस्तै सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले पनि मिठो कुरा गर्नु भएको छ अध्यक्ष कँडेलले भने ।

 

बुधवार गरिएको शिलान्यास कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य कमल चौलागाँई, केन्द्रीय सदस्य कैलाश प्रसाद ढुङ्गेल, माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटी सदस्य तुलप्रसाद कँडेल, शान्तिप्रसाद पौडेल, रत्न गौतम, सांसद समेत रहेकी माया कार्की लगायत प्रदेश कमिटी सदस्यहरू, जन वर्गीय सङ्गठनका नेता, कार्यकर्ता जिल्ला कमिटी उपाध्यक्ष, सचिव, उप–सचिव लगायतको उपस्थिति रहेको थियो । 

तस्बिरहरु हेर्नुहोस्, स्रोत पुष्कर भट्टराई

यस्यो बन्ने छ भवन स्रोत प्रकाश कार्की, पार्टी उपसचिव