रामेछापमा लम्पी स्किन रोगको असर : बजारमा दूध नबिक्दा डेरीहरूले किसानबाट दूध लिन छाडे, मासिक २० लाख घाटा

‘असार, साउनमा दूधको सिजन भएकोले कृषक अझै बढ्नु पर्ने हो । सुरु–सुरुमा राम्रै भयो तर रोग आएपछि भने सबै खेर गयो । पहिले हामीले २५५ जना भन्दा बढी किसानसँग यो समयमा कारोबार गर्थ्यौ ।’

| कात्तिक २०, २०८० सोमबार

A A A
A A A

१९ कार्तिक, रामेछाप । लम्पी स्किन रोगसहित विविध कारणले उपभोक्ताले दूधजन्य पदार्थ सेवन नगर्दा जिल्लाका किसान सहित दूधजन्य पदार्थको कारोबार गर्ने किसान र डेरी सञ्चालकहरू पीडित बनेका छन् । उनीहरूको मासिक लाखौँको नोक्सानी हुने गरेको गुनासो छ ।  

 

गएको असार महिना यता दूधजन्य पदार्थको खरिद बिक्री ह्वात्तै घटेको थियो । सरकारले दूधको मूल्य बढाए पनि लगत्तै दाना गरेको मूल्य वृद्धिले मार्मा परेका किसानलाई लम्पी स्किन रोगले थप थाला पारेको हो । 

 

देशमा लागेको आर्थिक मन्दी, कोरोना महामारी, मूल्य वृद्धि लगायतले पिल्सिरहेकै बेलामा एक्कसी आएको लम्पी स्किन रोगले दुना गाई, भैँसीमा भटा–भट थला पर्न र मर्न लागेपछि किसानहरू पीडामा परेका हुन् । रोग लागेर अधिकांश गाई भैसीं ग्रसित भएको, दुना वस्तु मरेको र केही वस्तुबाट उत्पादित दूध समेत बजारमा नबिक्दा किसान र डेरी सञ्चालक दुवै पीडित भएको उनीहरूको भनाई छ । 

 

गएको असारदेखि यता दूधजन्य पदार्थको बिक्री १० प्रतिशतको हाराहारीमा भइरहेको चिरञ्जीवी डेरी उद्योगका सञ्चालक भानु श्रेष्ठ बताउँछन् । दैनिक २२५ देखि २३० जना सम्म किसानबाट १५ सय लिटर दूधको कारोबार गर्दै आएका डेरी सञ्चालक श्रेष्ठले आफू दैनिक ७५ हजार घाटामा रहेको सुनाए । उनी भन्छन् ‘असार, साउनमा दूधको सिजन भएकोले कृषक अझै बढ्नु पर्ने हो । सुरु–सुरुमा राम्रै भयो तर रोग आएपछि भने सबै खेर गयो । पहिले हामीले २५५ जना भन्दा बढी किसानसँग यो समयमा कारोबार गर्थ्यौ ।’ 

 

जिल्ला सदरमुकाममा मात्रै दैनिक २४ सय लिटर दूधजन्य पदार्थ सङ्कलन हुने गरेको छ । भने, दैनिक दूध र दूध जन्य सामान २२ सय लिटरको खपत हुँदै आएको छ । जसमा चिरञ्जीवी डेरीले मात्रै १५ सय लिटर खपत गर्ने गरेको छ । भने चिरञ्जीवी डेरीको हाल ९ सय लिटर दूध बढी भइरहेको उनी सुनाउँछन् । 

 

उनले भने ‘बढी भएको दूधबाट घिउ र छुर्पी बनाउने गरेका छौँ । तर गत वैशाखमा दूधको मूल्य बढाएकाले छुर्पी, घिउको पनि मूल्य बढेर बजार पाएको छैन ।’ 

 

‘हामीले २५५ जना भन्दा बढी किसानसँग यो समयमा कारोबार गर्थ्यौ ।’ केहीलाई आफन्तहरुसंग ऋण सापटी लिएर पनि भुक्तानी दिएका छौँ ।’

 

जिल्लाकै पुरानो डेरी व्यवसायी समेत रहेका श्रेष्ठले दुखेसो गर्दै सुनाए ‘अब किसानले उत्पादन गरेको दूध लिन सक्ने स्थिति देखिँदैन । रोकी सकेका छैनौँ । तर, रोक्नु पर्ने स्थिति आइसक्यो ।’

 

उनले दूध किसान र डेरी व्यवसायी धराशायी स्थितिमा पुगेको भन्दै सुनाए ‘गएको जेठ महिनादेखि लम्पी स्किन रोगको कारण ग्राहक वर्गमा दूधजन्य परिकार बिक्दै बिकेन । यसले गर्दा असार, साउन र भाद्र महिनामा मासिक २० लाख रुपैयाँ घाटा भयो । अहिले भने ग्राहकमा लम्पीको धङ–धङी हटेर रुचि केही बढेको अवस्था छ, तै पनि दूध उत्पादन नै बढी भएकोले थेग्न सक्ने अवस्था छैन । कति किसानलाई भदौ महिनादेखिकै रकम नै भुक्तानी दिन बाँकी छ । केहीलाई आफन्तहरुसंग ऋण सापटी लिएर पनि भुक्तानी दिएका छौँ ।’

 

उत्पादित दूध नबिक्ने भएपछि किसानको दूध लिन सक्ने स्थिति नरहेको भन्दै सुनाए ‘कृषकको केही साँझको दूध रोक्न बाध्य हुने कुरा हामीले दुग्ध सहकारी र सम्बन्धित कृषकलाई जानकारी गराइसकेका छौँ ।’  किसानको दूध डेरीहरूले नलिने भएपछि पीडित किसानहरू समस्यामा परेका हुन् । यसलाई नै मिल्क होलिडे भनिन्छ । 

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा लम्पी स्किन रोगबाट संक्रमित बनेर थलिएको गोरु, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

यसरी दूध रोक्नु पर्दा हामीलाई दुःख लागेको छ । यस समस्याको समाधान लागि यहाँको दूध सहरमा पठाउनु नै एक मात्र उपाय हो । दूध सहरमा पठाउन सबै लाग्नु पर्ने छ हामी पनि आफ्नो तर्फबाट योगदान दिन्छौ । बाहिर दूध पठाउन सहजीकरण गर्न हामी पशु विज्ञ केन्द्रको सेवा केन्द्र मन्थली, मन्थली नगरपालिका, दुग्ध सहकारी सबैको ध्यान आकृष्ट गराउँदछु,’ व्यवसायी श्रेष्ठले भने । 

 

त्यस्तै  देवकोटा चोक स्थित रामेछाप डेरीका सञ्चालक किशोर पौडेल पनि दूध पनि दूध उत्पादन नघटे पनि बजारमा नबिकेको बताउँछन् । उनी भारतबाट सस्तो दूध आउँदा पनि यहाँको उत्पादन बिक्री नहुने गरेको उनको भनाई छ । 

 

डेरीहरू अहिले टिकी राख्नलाई गाह्रो भएको उल्लेख गर्दै भन्छन् ‘डेरीहरू नाफामूलक भन्दा पनि घाटा मूलक, घाटा कसरी कम गर्ने भन्नेमा मात्रै केन्द्रित हुने खालको छन् ।’ उनले थपे ‘डेरीहरू सानादेखि ठुला सबैको अवस्था बिजोक छ ।’ 

 

अब घाटा डेरीले थेग्नै नकस्ने गरी आउन लागेको उल्लेख गर्दै किसान र डेरीवालाहरू विस्थापित हुने अवस्थामा रहेको पौडेल बत्ताउँछन् ।  

 

लम्पी स्किन सङ्क्रमण फैलिएको बेलामा मान्छेले दूध हालेको चिया समेत पिउन छोडेपछि समस्या भएको व्यवसायीहरूको गुनासो छ । सङ्क्रमित पशुको दूध सेवन गर्दा समस्या नहुने विज्ञले सुझाए पनि उपभोक्ताहरूले भने दूध किन्नै छोडेका हुन् । 

 

जिल्लाका अन्य डेरीहरूले पनि किसानबाट लिने दूधको मात्र घटाउँदै लागेको किसानहरूको दुखेसो छ । केही समय यता रामेछाप जिल्ला दूधमा आत्मनिर्भर भएको मानिँदै आएको छ । यहाँ उत्पादित दूधजन्य पदार्थ सिन्धुली, ओखलढुङ्गा, दोलखा सहित विभिन्न बाहिरी जिल्लामा निर्यात समेत हुने गरेको छ ।

 

लम्पी स्किन रोग लागेका गाई वस्तुबाट आएको दूध खान मिल्ने पशु प्राविधिक संग गरिएको कुराकानी हेर्नुहोस् भिडिओमा 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));