नयाँ वर्षमा रामेछाप महोत्सवले ततायो मन्थली, यसरी सजाइँदै छ बजार (फोटो/भिडिओ)

| चैत ३०, २०७९ बिहिबार

A A A
A A A

३० चैत, रामेछाप । रामेछापको मन्थलीमा भोलि शुक्रवार देखि सुरु हुने सांस्कृतिक सडक महोत्सव एवं फुड फेस्टिवलको तयारी स्वरूप मन्थली बजारलाई सजाउन थालिएको छ । आज बिहीबार आयोजक रामेछाप उद्योग वाणिज्य संघ, सहआयोजक रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघ, मुख्य प्रयोजक मन्थली नगरपालिका, प्रायोजन रामेछाप नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय मन्थलीले महोत्सवको तयारी तीव्र पारेका हुन् । 

 

मन्थली देवकोटा चोकदेखि कृषि विकास बैङ्क सम्मको मूल सडकमा स्टलहरू राख्ने गरी सजावट गरिएको छ । सडकमा अति आवश्यक पर्ने सवारीलाई एकतर्फी चल्न सक्ने व्यवस्था मिलाइएको छ । यात्रुवाहक, महलवाहक र लामो दूरीका सवारीलाई देवकोटा चोकदेखि जिल्ला प्रहरी कार्यालयबाट बसपार्क तर्फ जाने बाटो व्यवस्थापन गरिएको छ । 

 

जिल्लाको धार्मिक संस्कृति, स्थानीय जातजातिका झाँकीहरू, सांस्कृतिक प्रस्तुति, स्थानीय रैथाने बालीबाट उत्पादित परिकारहरू, स्थानीय कृषि घरेलु तथा दुग्धजन्यबाट उत्पादित वस्तुहरू, स्थानीय कलाकारबाट लोकदोहोरी सहित राष्ट्रिय स्तरमा ख्याति प्राप्त जिल्लाका कलाकारहरूको प्रस्तुति हुने आयोजकले जनाएको छ । त्यसको लागि कलाकारहरू समेत तोकिएका छन् । 

 

जिल्लाको पर्यटन प्रवर्द्धन र व्यावसायिक महत्त्व बोकेको यो महोत्सव पहिलो पटक हुन लागेको हो ।