दुर्घटना न्यूनीकरण गर्न रामेछापमा सुरु भयो ‘ट्राफिक सप्ताह’ (फोटोफिचर)

| माघ २५, २०८० बिहिबार

A A A
A A A

२५ माघ, रामेछाप । रामेछापमा बिहीबारदेखि ‘ट्राफिक सप्ताह’ सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान स्वरूप बागमती प्रदेशभरि आउँदो फागुन २ गते सम्म ट्राफिक प्रहरीले विभिन्न सचेतना तथा जनचेतना मूलक कार्यक्रम गरेर दिवस मनाउँदै छ । 

 

बिहीबार सदरमुकाम मन्थलीमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सुरु भएको साप्ताहिक कार्यक्रम मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गरेका हुन् । 

 

उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठसहित, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) होमबहादुर पराजुली, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष,राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीय सहितको उपस्थितिमा प्रभातफेरी गरिएको हो । 

 

 

उक्त प्रभातफेरी कार्यक्रम विभिन्न ट्राफिक सचेतना र जनचेतना मूलक नाराहरू उल्लेखित ब्यानरहरू प्रदर्शन गरिएको छ । साथै विभिन्न जातजातिको झाँकी, र्‍याली, लाखे नाच, विद्यार्थीहरूको स्काउट ट्रुपसहित सहभागी थियो । 

 

 

सवारी दर्घटना न्यूनीकरणको लागि यस अगाडि देखि नै विभिन्न कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिकले यो सात दिनभर सचेतना मूल कार्यक्रम गर्ने तय रहेको ट्राफिक प्रमुख दीपक चौलागाईले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार दैनिक सचेतना र जनचेतना मूलक कार्यक्रम गरी यो सप्ताह मनाइने छ । यो अवधि सचेतना मूलक पर्चा प्लेट टाँस्ने, बढी भाडा लिएको भए अनुगमन गर्ने, सिट क्षमता भन्दा बढी यात्रु राखेको नराखेको जाँच गर्ने, विद्यार्थीलाई बाटो काट्न सिकाउने, सवारीमा टल्कने स्टिकर टाँस गर्ने, तीव्र गतिमा सवारी चलाउनेलाई र ओभर ट्याग गर्नेलाई प्रशिक्षण गर्ने कार्यक्रम गर्ने छ । 

 

त्यस्तै चालकसँग ५ मिनेट, चालकहरूको सामान्य स्वास्थ्य परीक्षण, आँखा जाँच, गाउँ–टोलमा आमा समूहसँग छलफल, विद्यार्थीलाई ट्राफिक सचेतना, कच्ची सडकबारे सचेतना गर्ने, सरकारी कर्मचारी तथा चालकहरूलाई प्रशिक्षण कार्यक्रम, रक्तदान, सवारीहरूको यान्त्रिक परीक्षण गर्ने र फागुन २ गते पत्रकारहरूसँग ‘ट्राफिक सप्ताह’को उपलब्धि बारे अन्तरक्रिया गर्ने ट्राफिक प्रमुख चौलागाईले प्रस्ट पारे । 

 

फागुन २ गते साँझ देवकोटा चोकमा दीप प्रज्वलन गरेर कार्यक्रम समापन गर्ने योजना रहेको उनले बताए । यस अगाडि पनि जिल्ला ट्राफिक प्रहरीले विद्यालय विद्यालयमा पुगेर सचेतना गर्ने देखि चालकहरुसंग ५ मिनेट, सवास्थ्य परीक्षण, यान्त्रिक परीक्षण, बढी भाडा लिने सवारीलाई कारबाही गर्दै आएको छ । भने, जिल्लाका मुख्य प्रवेशद्वारहरुमा समेत चेक जाँचमा कडाई गर्दै आएको छ । साथै मुख्य बजारहरुमा समेत छड्के चेकिङ, नियमित चेकिङ समेत गर्दै आएको छ । 

 

सप्ताह उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरोकारवालाहरूले सुरक्षित यात्रा गर्नु चालक, यात्रु, पैदल यात्रु सबैले ध्यान दिनु पर्नेमा जोड् दिएका छन् । 

 

तस्बिर सबै जिल्ला ट्राफिक कार्यालय रामेछापबाट प्राप्त ।