रामेछापमा संविधान दिवस : औपचारिक कार्यक्रममा सहभागी हुने जन सहभागिताले ‘नयाँ रेकर्ड’ राखेको दाबी (फोटोफिचर)

| असोज ३, २०८० बुधबार

A A A
A A A

३ असोज, रामेछाप । आठौँ संविधान दिवस रामेछापमा भव्यताको साथ मनाइएको छ । बुधवार मनाइएको दिवसमा निकालिएको प्रभात फेरी एवं र्‍यालीमा रामेछापका हजारौँ जनसहभागिताको उपस्थिति भीडले हाल सम्मकै नयाँ रेकर्ड समेत बनाएको दाबी गरिएको छ । यो रेकर्ड जिल्लाभित्र हुने कार्यक्रमलाई आधार मानिएको हो । 

 

२०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भए पश्चताका वर्षहरूमा प्रत्येक वर्ष यसरी नै दिवस मनाइँदै आइएको भए पनि यो वर्ष जिल्लामा उल्लेख्य जनसहभागितामा भएको हो । ‘यो वर्ष जस्तो पहिले हुँदैन थियो । औपचारिक कार्यक्रम सधैँ हुन्थ्यो तर, जनसहभागिता यो पटक अधिक हो’ नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले भने । 

जन सहभागिताले नयाँ रेकर्ड राखेको कार्यक्रमको संयोजन गरेको जिल्ला प्रशासनले पनि दाबी गरेका छन् । प्रशासनका नायव सुब्बा एवं तीनलाल पार्कमा आयोजित दिवसको कार्यक्रम सञ्चालक लक्ष्मण भुजेलले भने ‘२५ सय बढी मान्छेको उपस्थिति थियो । यो अहिले सम्मकै बढी हो’ उनले थपे ‘ट्राफिक चोकमा र्‍यालीको लाइन पुग्दा कृषि विकास बैंक अगाडि सम्म लाइन थियो । मैले फोन गरेरै बुझेको ।’

उनले आफूहरूले सहभागिताको लागि २ दिन देखि सबैलाई खबर गरेको सुनाउँदै कार्यक्रममा प्रस्तुति देखाउनेको लाइन लागेको बताए । ‘मान्छेले पत्याएका थिएनन् । तर, मलाई पालो दिन हम्मे हम्मे पर्‍यो । सबै हामीलाई पनि पालो दिनु पर्‍यो । हामी पनि प्रस्तुति छ भनेर आको आइ गरे भने ।’

जिल्ला सदरमुकाम मन्थलीमा विगतमा भएका विभिन्न झाँकी प्रदर्शन, र्‍याली, पार्टीका कार्यक्रमको र्‍याली, विरोध र्यालीहरु भन्दा अधिक मात्रमा जनसहभागिता भएको हो । नायब सुब्बा भुजेलले बिगतमा नेतृत्व कर्ताले चासो नदिएको र समन्वयमा यस्तो तयारी गर्न नसकेको तर्क गर्दै तीनलाल पार्कमा मान्छेले खचाखच भएको बताए । 

मन्थली माद्यामिक विद्यालयबाट राष्ट्र सेवक कर्मचारी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ, संस्था, क्लब, जातीय समुदाय, भाषिक समुदाय, शिक्षक, विद्यार्थी जनप्रतिनिधि सहितको र्‍याली सुरु भएको थियो । र्‍याली मन्थली स्थित हाटेचौरको तीनलाल पार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । 

 

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा भएको कोण सभामा नेवा खःल, माझी, तामाङ, विभिन्न विद्यालयका विद्यार्थी, संघ संस्थाबाट झाँकी पर्दशन गरिएको थियो । 

साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले संविधानको महत्त्व, विशेषता, आवश्यकताका बारेमा चर्चा परिचर्चा गर्दै धारणा राखेका थिए । 

 

त्यस्तै बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठ, युवराज चौलागाईँ, आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की), नेपाली काँग्रेसका उपसभापति लेखबहादुर कार्की, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी लगायतले संविधान दिवसको अवसरमा शुभकामना सहित धारणा राखेका थिए । 

त्यस्तै मैत्रीपूर्ण फुटबल, भलिबल लगायतका कार्यक्रममा सहभागिता जनाएको खेलाडी, संघ, संस्थाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

रामेछापमा ८ औँ संविधान दिवस गत भदौ २९ गतेदेखि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको थियो । आज साँझ पनि जिल्लाका विभिन्न स्थानीय तह सहित जनताको घर-घरमा दीप प्रज्वलन गरेर दिवसलाई मनाइँदै छ ।