मन्थली-१२ गेलुमा बालबालिका सहित १०० जनाको हात धोएर दिवस मनाइयो (फोटोफिचर)

| असोज २८, २०८० आइतबार

A A A
A A A

२८ असोज, रामेछाप । विश्व हात धुने दिवसको अवसरमा मन्थली नगरपालिका वडा नं १२ गेलु सिग्रालमा बालबालिका सहित १०० जनाको हात धोएर मनाइएको छ । साथै बालबालिकालाई हात धुने सही विधि र घरमा पानी शुद्धीकरण गर्ने घरायसी उपाय सिकाएर मनाइएको छ । 

 

सोही वडाको वडा बाल मैत्री स्थानीय शासन वडा समिति र बाल अधिकारी वडा समितिको आयोजना र आधारभूत स्वास्थ्य केन्द्रको समन्वयमा वडा भित्र गठित १६ वटा वाल समूहका बालबालिकाको हात धोएर दिवस मनाइएको वडा बाल सहजकर्ता एवं कम्प्युटर अपरेटर लक्की शंकर (घिमिरे) ले रामेछाप टाइम्सलाई बताइन् । ‘दिवसलाई पनि मनाउने र बालबालिकालाई हात धुन सही तरीकाले सिकाउने उद्देश्यले उनीहरू माझ हात धोएर दिवस मनाएका हौँ ।

 

शनिवार र आइतबार दुई दिन वडाभित्रका गाउँ टोलमा पुगेर वडा अध्यक्ष खिलेन्द्र खत्री सहित स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवीका, वडा सदस्य, अभिभावक र बालबालिकाको सक्रिय सहभागितामा हात धोएर दिवस मनाइएको कम्प्युटर अपरेटर शंकरले बताइन् । 

 

उनले भनिन् ‘हामीले हिजो भोर्ले बतासे र अम्बास बेसी, साविको  १ नम्बरमा कार्यक्रम गर्‍यौँ । आज साबिक ३ नं को जियाँल टोलमा बडा दशैं, शुभ दीपावलीको शुभकामना आदान प्रदान समेत गरेर दिवसलाई मनोरञ्जनात्मक र सकारात्मक सन्देश  दिने तरिकाले मनायौँ ।’ उनले थपिन् ‘बालबलिकाहरुलाई फोहोर वस्तु छोएपछि,। शौचालय प्रयोग गरेपछि, दिसा धोएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुन पानीले नियमित हात धुनु पर्छ भनेर समेत सचेत गराएका छौँ ।’

 

सो विषयमा सिग्राल स्वास्थ्य आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख अनिल बुढाथोकीले पनि विशेष भूमिका खेलेका छन् । उनले साबुन पानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने भन्दै शुद्ध खानेपानी प्रयोग गर्न जोड् दिए । उनले घरमा पानी शुद्धीकरण गर्ने सजिलो उपाय समेत सिकाएका थिए । 

 

दुई दिन गरिएको कार्यक्रममा एक सय भन्दा बढीको हात धोइएको बाल सहजकर्ता शंकरले बताइन् । 

 

बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा अन्तर्गत वडा नं १२ सहित नगरका १४ वटै वडामा कार्य भइरहेको छ । सो अन्तरगत बालमैत्री वडा सहकर्ता र सञ्जालहरूले विधि चेतना मूलक र बालबालिकालाई सचेतना, सक्षम, सबल र अनुशासित बनाउने काम गर्दै आएका छन् ।