पर्यटकले भरिभराउ हुने शिवालय सुनसान : वडा अध्यक्ष बस्नेत भन्छन् ‘संरक्षण क्षेत्रले पदमार्गको विस्तार गर्न मानेन’ (फोटोफिचर)

| कात्तिक २३, २०८० बिहिबार

A A A
A A A

२३ कात्तिक, रामेछाप । पैदल मार्ग तर्फ सगरमाथा प्रवेशद्वारको सबै भन्दा छोटो मार्गको रूपमा परिचित शिवालय देउराली बाम्तीभण्डार पद मार्ग यति बेला सुनसान छ । केही वर्ष पहिले पर्यटकले भरिभराउ हुने शिवालय देउरालीको बाटो अहिले झाडी र झोर बनेको छ । पर्यटकका भरिया, गाइडको ताँतीले पैदल मार्ग भएर सोलु खुम्बु, गुम्देल बाम्ति  प्रवेश गर्ने स्थानीयले सहजै बाटो पाउन समेत मुस्किल हुने यो बाटो अहिले वर्षामा पानी बग्ने कुलो गोरेटो जस्तो बन्न पुगेको हो । पर्यटकले भरी भराउ हुने बाटो झाडी, झोर र जङ्गलको रूपमा परिवर्तन हुनमा गौरीशङ्कर संरक्षण क्षेत्रले पर्यटक प्रवेशमा असुल्ने महँगो शुल्क बन्न पुगेको रहेको स्थानीयहरूको तर्क छ । 

 

गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे स्थित शिवालय बजारमा रहेको गौरीशङ्कर संरक्षण समितिले प्रति पर्यटक प्रवेश शुल्क ३ हजारदेखि ३५ सय सम्म लिँदै आएको छ । पर्यटकलाई टेवा पुर्‍याउने पैदल मार्ग, बाटो चित्र, जानकारी लगायत कुनै व्यवस्थापन गर्न नसकेको गौरीशङ्कर संरक्षण क्षेत्रले शुल्क भने महँगो असुल्ने गरेपछि दोलखाको जिरी बजार हुँदै शिवालय आएर सगरमाथा तर्फ जाने पर्यटक अहिले गाडीमा काठमाडौँबाट बिपी राजमार्गको खुर्कोट हुँदै मन्थली ओर्लिएर विमान मार्फत सिधै लुक्ला जाने गरेका हुन । 

चुचुरे स्थित गर्जान बजारमा रहेको पुल छेउबाट पाँच पोखरी तर्प देखिने मनोमहक दृष्य 

पहिले यति बेला बाटो हिँड्ने ठाउँ पाइँदैन थियो । बजारमा चहलपहल हुन्थ्यो । देउरालीमा पर्यटकले होटेल भरी भराउ हुन्थे । यो क्षेत्र पर्यटकीय महत्त्व बोकेको भनेर चिन्थे । अहिले त्यो छैन । एक दुई जना मात्रै छिट्फूट मात्रमा देख्न पाइन्छ विगतमा गुम्देलका हिक्मत बिकले भने । अहिले एकलै हिँड्न पनि नसकिने अवस्थामा पुगेछ । स्थानीय मान्छे नै हिँड्दैनन्, पर्यटकको त के कुरा । 

यसै विषयमा गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेका वडा अध्यक्ष छत्रबहादुर बस्नेत पनि विगतमा पर्यटकले भरी भराउ हुने यो मार्ग अहिले सुनसान बन्न पुग्नमा संरक्षण क्षेत्रले पद मार्गको उचित निकास दिन सक्नु रहेको बताउँछन् । उनले भने ‘इन्ट्रिफिस महँगो भयो भने विदेशीको गुनासो आएको हो । विदेशीबाट उठाएको ३ हजार ३५ पैसा अनुसार पदमार्गको विस्तार गर्न भने खर्च गरेको छैन संरक्षण क्षेत्रले ।’ उनले थपे ‘हिड्नेबाटो नै अलमलिने जस्तो भएको छ, त्यसलाई राम्रो बनाउन । चिन्न, चित्र  र जानकारी मूलक विषयमा खर्च गर्न सकेको छैन । पर्यटकलाई आवश्यक पर्ने पैदल मार्गको सहज नभएको वडा अध्यक्ष बस्नेतको भनाई छ । 

गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे स्थित गर्जाङ उपत्यका 

उनले पर्यटकबाट लिएको शुल्कको केही रकम त्यसको लागि खर्च गर्न सकेमा शिवालय, देउराली बाम्तिभण्डार सहित सगरमाथा प्रवेशद्वारलाई परिचित गर्न सकिने दाबी गरे ।  वडा अध्यक्ष बस्नेतले गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका स्थित पाँच पोखरी, भाले पोखरी, चित्रे पोखरी, विभिन्न जडिबुट्टी, ताबेडाँडाहरु, सेर्दिङ, महालङ्गुर हिमशृङखला, उमातिर्थ, दुई पालिका भित्रको जलविद्युतको हवको चर्चा परिचर्चा गर्न सकिने बताउँछन् । 

चुचुरे स्थित गर्जाङ बजार 

त्यसको लागि आफूहरूले पनि गौरीशङ्कर संरक्षण क्षेत्रलाई पर्यटकलाई सहज हुने गरी प्रवेश शुल्क लिन आग्रह गरे पनि संरक्षण क्षेत्रले नटेरेको बताउँछन् । ‘हामीले पनि मंहगो भयो भने त्यसलाई मिलाउन भन्ने बारेमा भनेका हौँ । तर, सुनेन।’

उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार स्थित लुबु बजार । जहाँ केही वर्ष पहिले सगरमाथा प्रवेश गर्ने पर्यटकहरुको लर्को लाग्थ्यो । अहिले सुनान्

त्यसको लागि वडाले मात्रै काम गरेर सम्भव नहुने भन्दै पालिका, प्रदेश र सङ्घीय सरकारले नै यसमा सहयोग गर्नु पर्नेमा वडा अध्यक्ष बस्नेतको जोड छ । ‘बडासँग १ २ करोड बजेटले केही पनि हुँदैन । त्यसको लागि तीनै तहले काम गर्नु पर्छ ।’ 

 

आफ्नो वडामा चालु आर्थिक वर्षमा जम्म १ करोड ७ लाख बजेट रहेको सुनाउँदै यो बजेट स्वास्थ्य, शिक्षा, खानेपानी, सडक मर्मत लगायतका साना तिना कामको लागि मात्रै हुने सुनाए । ‘यो बजेटले मर्मत र टालटुलको मात्रै काम गर्न सकिने रहेछ । समृद्धिको परिकल्पन यसरी पर्याप्त हुँदैन । जनताको आवश्यकता पूरा गर्नकै लागि यो बजेट अपुग छ ।’

कुनै समय पर्यटकले भरी भराउ हुने देउराली 

सडक सफा गर्नु पर्छ, कुलो, ढल मर्मत, नियमित चल्नै पुग्दैन यसबाट ठुलो समृद्धि ल्याउन सकिँदैन अध्यक्ष बस्नेत भन्छन् ‘नचाहेरै पनि बजेटलाई टुक्रा टुक्रा पार्नु पर्छ । यसबाट के विकास हुनु, देखिने काम खासै गर्न सकेका छौँ जस्तो लाग्दैन । तर, जनतालाई असर पुर्‍याउने काम पनि गरेका छैनौँ ।’ 

सबै तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स