दीप प्रज्वलन गरेर सुरु गर्‍यो मन्थली नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको अभियान (फोटोफिचर)

| मंसिर ९, २०८० शनिबार

A A A
A A A

०९ मंसिर, रामेछाप । मन्थली नगरपालिकाले दीप प्रज्वलन गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । आज शनिवार साँझ मन्थली देवकोटा चोकमा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) को प्रमुख आतिथ्यता र नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहितको उपस्थितिमा एक कार्यक्रम गर्दै सामूहिक रूपमा दीप प्रज्वलन गरेर १६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवस सुरु गरेको हो । 

 

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिकी प्रमुख  खड्का (कार्की) ले नगरपालिकाले विगतदेखि नै दिवस मनाउँदै आएको स्मरण गर्दै यो वर्ष पनि दिवस मनाउने अभियान प्रारम्भ प्रशंसनीय तरिकाले सुरु गरेको बताइन् । उनले यो अभियानको कार्यक्रम सकेपछि त्यसको समीक्षा गर्नु पर्नेमा जोड् दिइन् । उनले लैङ्गिक हिंसा विरुद्ध जुनसुकै जटिल विषय पनि बाहिर ल्याउन सक्नु पर्छ भनिन् । साथै उनले हिंसा विरुद्ध सबैले आवाज उठाउनु पर्नेमा सचेत गराइन् । उनले म, हिंसा गर्दिन र हिंसामा पर्दिन भन्ने मन्त्रलाई समेत सधैँ मनन् गरेर सोच र आचरण विकास गरेमा लैङ्गिक हिंसा न्यूनीकरण हुने धारणा राखिन् । 

 

 त्यस्तै नगर प्रमुख श्रेष्ठले जाने बुझेकै मान्छेबाट हिंसा हुने तर्क गर्दै ती मानिसहरूले बोलीचालीमा सुधार ल्याउनु पर्ने र त्यसैबाट हिंसा कम हुँदै जाने धारणा राखे । उनले घर परिवारबाटै सबैले हिंसा अन्त्य गर्नु पर्छ भने । महिला र पुरुष भएको अहम्ता नत्यागेसम्म लैङ्गिक हिंसा अन्त्य नहुने उनको भनाई छ । 

 

प्रमुख जिल्ला अधिकारी निरौलाले सम्भावित हिंसा गर्ने समूह र वर्गलाई केन्द्रमा राखेर त्यस्तालाई जरैबाट उखेलेर फ्याँक्नू पर्ने बताइन् । उनले महिला पुरुष एक सिक्काका दुई पाटा रहेको उल्लेख गर्दै यी दुवै बिच समानता हुनु पर्छ भनिन् । 

 

१६ दिन भरी नै सचेतना मूलक कार्यक्रम 

१६ दिन सम्म मनाइने अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको यो दिवस भरी नगरपालिकाले आत्महत्या रोकथामको लागि सकारात्मक सोच विकास,जबरजस्ती करणी तथा यौन दुर्व्यवहार र सामाजिक विकृति विरुद्ध जनचेतना मूलक कार्यक्रम गर्ने नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख भगवती तामाङले जानकारी दिइन् । 

 

त्यस्तै उनका अनुसार यही अभियानमा सामाजिक कुरीति, घरेलु हिंसा विरुद्ध सहित लिङ्गको आधारमा हुने सबै खाले हिंसाको विरुद्धमा सचेतना तथा जनचेतना मूलक कार्यक्रम गरिने कार्यक्रम तय भएको छ । 

 

भिडिओ हेर्न यो लिङ्मा जानुहोस् । 

https://www.facebook.com/profile.php?id=100066899250173