शैक्षिक सुधार गर्न उमाकुण्ड गाउँपालिकाले गुम्देल र बाम्तिका विद्यालयमा लागू गर्यो ‘छात्राबास’

| माघ ३, २०८० बिहिबार

महालङ्गुर माविमा रहेको छात्रा बास ।
A A A
A A A

४ माघ, रामेछाप । विपन्न परिवारका बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्न उमाकुण्ड गाउँपालिकाले ‘छात्राबास’ सुरु गरेको छ । भौगोलिक रूपमा विकट मानिने उमाकुण्ड गाउँपालिकाले पालिका भित्रको शैक्षिक गुणस्तरलाई सुधार गर्ने उद्देश्यका साथ घण्टौँको पैदल यात्रा गर्नु पर्ने बाध्यताको अन्त्य गरेको हो । एक दिन भरी पैदल हिँड्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै विद्यालयमै बास बस्ने व्यवस्था चालु शैक्षिक सत्र देखि लागू गरिएपछि विद्यार्थीलाई सहज भएको हो । 

 

पहिलो चरणमा वडा नं १ गुम्देलको श्री महालङ्गुर माध्यमिक विद्यालय र वडा नं २ बाम्तिभण्डारको शिद्देश्वर उच्च माद्यामिक विद्यालयमा छात्रा बासको व्यवस्था लागू गरेको छ । वडा नं १ गुम्देलमा एउटा मात्रै उच्च माद्यामिक विद्यालय छ । जहाँ साबिकको वडा नं १ लाछेवार देखि पैदल एक दिन हिँडेर पठनपाठनको लागि महालङ्गुर धाउनु पर्ने बाध्यता थियो । यस अगाडि आफन्तकोमा र डेरा गरी बस्न बाध्य बालबालिका पालिकाले विद्यालयमै छात्राबास व्यवस्था गरेपछि खुसी भएका छन् । सामूहिक रूपमा विद्यालयमै ढुक्कसँग बस्न पाउने भएपछि बालबालिकाको पढ्ने समय बढेको त छदै छ यसले उनीहरूको पठनपाठनमा समेत सुधार ल्याउन मद्दत पुगेको शिक्षकहरूको भनाई छ । 

श्री महालङ्गुर माविका शिक्षक र विद्यार्थीहरु, तस्बिर फाइल 

चालु आर्थिक वर्ष लगत्तै सुरु भएको छात्रा बासमा वडा नं १ गुम्देलमा अहिले १९ जना छात्रा छात्र बस्दै आएका छन् । विशेष गरी वडाको माथिल्लो भेग चौरी गोठमा बस्ने बालबालिकालाई ध्यानमा राख्दै छात्रा बास सुरु गरेका हौँ’ गाउँपालिकाको शिक्षा शाखाका ङावा शेर्पाले रामेछाप टाइम्ससंग प्रस्ट पार्दै भने ‘छात्राबास सुरु भएपछि उनीहरूले पठनपाठनमा सहज महसुस गरेका छौँ ।’

 

उनले थप प्रस्ट पार्दै भने ‘व्यवस्थापन समितिले विपन्न परिवारका बालबालिकालाई ध्यानमा राखेर न्यूनतम शुल्क लिएको छ । त्यसो गर्दा परिवारको पनि जिम्मेवारी हुने र बालबालिकामा पनि दायित्व बोध हुन्छ । त्यी कुरालाई मध्यनजर गरेर मासिक शुल्क लिएका छौँ । ४/५ जना अति विपन्न परिवारका विद्यार्थी अहिले पनि निःशुल्कै बस्छन् ।’

 

पालिकाले छात्रा र छात्रको लागि क्यान्टिनमा एक जना ‘लेडिज’ र छात्रको लागि ‘जेन्स’को कर्मचारीको रूपमा राखेर खाना, खाजा, उनीहरूको रुम व्यवस्थापन र सरसफाइको काम गर्ने वातावरण मिलाएको छ । 

 

गुम्देलमा कक्षा ६ देखि १० सम्म पढ्ने छात्रा छात्र छात्रा बासमा बस्ने गरेका छन् । उनीहरूबाट मासिक न्यूनतम शुल्क लिएर क्यान्टिनमै खाना, खाजा सुविधा सहित छात्रा बासको व्यवस्था गरिएको शेर्पाको भनाई छ । 

श्रीमहालङ्गुर माद्यामिक विद्यालयको छात्राबासको बेड्हरु, तस्बिर फाइल । 

त्यस्तै एउटै उच्च मावि रहेको वडा नं २ बाम्तिभण्डारमा कक्षा १२ देखि ब्याच्लर (स्नातकोत्तर तह) मा यो कार्यक्रम लागू भई हाल २० जना विद्यार्थी छात्राबास बसेरै पठनपाठन गर्दै आएका छन् । ‘हिमाली आवासीय कार्यक्रम’ अन्तर्गत मन्त्रालयबाट छुट्टिएको १० लाख बजेटबाट यो कार्यक्रम लागू गरेको सुनाउँदै पालिकाले पनि शैक्षिक सुधारलाई प्राथमिकता दिएर योजना अगाडि सारेको शिक्षा शाखाका शेर्पाले सुनाए । 

 

७ वटा वडा रहेको उमाकुण्डमा एक निजी स्कूल (शेर्पा बोर्डिङ स्कूल) सहित ३५ वटा आधारभूत विद्यालय र ७ वटा माद्यामिक विद्यालय गरी ४२ वटा विद्यालय रहेका छन् । जसमा तत्कालीन अवस्थामा ४ वटा वडाका एक–एक विद्यालयमा छात्राबास सञ्चालन गर्नु पर्ने परिकल्पना गरिएको छ । वडा नं १ र २ का विद्यालय सहित वडा नं ४ प्रितीको चण्डेश्वरी र वडा नं ६ गुप्तेश्वरको कैलेश्वर माविमा छात्राबास सञ्चालन गर्न सके त्यहाँका विद्यार्थीलाई सहज वातावरणमा पठनपाठन गर्न सकिने गाउँपालिकाको शिक्षा शाखाले गरेको एक अध्ययनबाट पुष्टि भएको छ । 

 

कक्षा संचालन हुँदा र सकिएपछि घर सम्म सहजै पुग्न नसकिने विद्यालयहरु चार वटा रहेको निष्कर्श सहित ती विद्यालयमा छात्राबास लागू गर्न उपयुक्त देखिएको शिक्षा शाखाको भनाई छ ।

 

चार हजार २ सय बालबालिका अध्ययनरत रहेको यो पालिकाले भौतिक पूर्वाधार निर्माण सम्पन्न भएका विद्यालयहरूलाई प्राथमिकतामा राखेर छात्राबास सञ्चालन गर्ने र शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको हो । यसलाई संचालको गर्न आर्थिक रूपमा बढी नै भार देखिएको उल्लेख गर्दै विभिन्न माध्यमबाट एक अक्षयकोष खडा गरेर यसलाई निरन्तरता दिने सम्मको योजना रहेको पूर्व शिक्षक समेत गरेका पालिका शिक्षा शाखाका शेर्पाको भनाई छ । 

 

खेलकुद क्षेत्रमा विगतको तुलनामा उल्लेख्य प्रगति गरेको यो पालिकाले गुणस्तरिय र प्रभावकारी पठनपाठन गर्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यकता ठानेको जनाएको छ । 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));