नयाँ वर्ष : जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलमा पर्यटकको भीड, ताँबेडाँडामा ४ हजारको बढी पुगे

| बैशाख २, २०८१ आइतबार

A A A
A A A

२ वैशाख, रामेछाप । नयाँ वर्षको २०८१ को पहिलो दिन शनिवार (हिजो) जिल्लाका विभिन्न ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै चहल पहल देखियो । जिल्ला सदरमुकाम मन्थलीको तामाकोशी नदी किरानादेखि रामेछाप नगरपालिका वडा नं ८ स्थित बिटार पार्क, सोही नगरको वडा नं ७ सुकाजोर स्थित भालुखोप डाँडा, पुरानागाउँको स्थानापति महादेव मन्दिर, खाँडादेवी मन्दिर देखि मन्थलीका होटलहरुमा समेत घुमफिर गर्दै शुभकामना आदान प्रदान गरी नयाँ वर्षको भव्य स्वागत गरियो । 

 

सोही क्रममा जिल्लाको पर्यटकीय उच्च सम्भावना बोकेको रामेछाप र दोलखाको सीमा स्थित महाभारत पर्वतको उच्च भू–भाग शैलुङ् र जिल्लाकै उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमा स्थिति ताँबे डाँडामा आन्तरिक पर्यटकहरूको अत्यधिक भीड लागेको पुगेको हो । सबै जातजातिको धार्मिक तथा घुमफिरको लागि पर्याप्त सुन्दर उच्च भू–भागमा वर्ष भरी विभिन्न काममा व्यस्त मानिसहरू रमाउन त्यहाँ पुगेका हुन् । 

 

पछिल्लो समय जिल्लाकै एक प्रमुख पर्यटकीय स्थलको रूपमा चर्चा कमाइरहेको ताँबेडाँडामा वर्षको पहिलो दिन चार हजारको हाराहारीमा मानिसहरू त्यहाँ पुगेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले रामेछाप टाइम्सलाई बताए । 

ताँबेडाँडामा युवाहरुसंग गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), तस्बिर स्रोत डबिन तामाङ ।

 

‘चार हजार हाराहारीमा उपस्थिति देखियो । पर्यटन प्रवर्द्धनको लागि आवश्यक पूर्वाधार बन्दै गर्दा यो उपस्थिति हुनु निकै खुसीको कुरा हो’ ताँबेडाँडामा आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा पर्ने जिकिर गर्दै जिल्लाकै युवा अध्यक्ष खड्काले भने ‘हामीले आगामी दिनमा त्यहाँ खानेपानी, बिजुली लगायतका पूर्वाधार निर्माण गर्न गाउँपालिकाको तर्फबाट प्रतिबद्ध छौँ ।’

 

जिल्लाकै युवा र जुझारु नेताको छवि बनाएका तरुण दल जिल्ला अध्यक्ष समेत रहेका अध्यक्ष खड्काले ताँवेडाँडामा यो वर्ष दोलखाको जिरी महोत्सव र राजधानीबाट आएको ‘बुलेट बाइक यात्रा’ ले गर्दा थप रौनक थपेको बताए । 

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सबै जातिको धार्मिक, सांस्कृतिक एकरूपता र आस्थाको केन्द्रको रूपमा चिनाउन सके पर्यटनको आगमन झन् बढ्ने अध्यक्ष खड्काले प्रस्ट पारे । उच्च भूगोलको कारण ताँबेमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै खानेपानी समस्या समाधान गर्न गाउँपालिकाले पहल थाली सकेको उनले प्रस्ट पारे । 

 

त्यस्तै उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले पनि ताँबेलाई पर्यटकको रोजाईमा पार्नलाई अहिले पूर्वाधार निर्माणको काममा आफूहरू लागि परेको बताउँदै बाहिर बाट त्यहाँ पुग्नेहरूलाई ‘किनेर खाने’ सुविधा सम्म पुर्‍याउन लागि परेको बताए । 

‘यो वर्ष सबै निर्माणको काम सकिएको छैन । बजेटको छुट्टिएको छ । ठेकेदारले काम नगर्दा समस्या भएर औपचारिक कार्यक्रम राखेनौँ । तर, पूर्वाधार निर्माणमा हामी लागेका छौँ । सबैको रोजाईमा पार्नको लागि हाम्रो पहल जारी छ’ नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेका सुनुवारले रामेछाप टाइम्ससंग भने । 

 

अहिले पालिकाले एउटा रिसोर्ट बनाइ रहेको सुनाउँदै डाँडा सम्म पुग्न सिँढी निर्माण, धार्मिकसँग जोड्न मन्दिर भएको जानकारी गराए । 

 

जिल्ला सदरमुकाम मन्थलीबाट खिम्ती–बेताली–भूजीडाँडा हुँदै ताँबेडाँडा सम्म पुग्न सकिन्छ । यहाँबाट रामेछापका विभिन्न भू–भागसहित दोलखा स्थित गौरिशंकर हिमाल, जिरी, हाट डाँडा, आसपासका बजार, हिमशृङ्खलाहरू देख्न सकिन्छ । भने, लालिगुरा, गुराँस, चिम्मलसहित लेकाली फूलहरूको सुगन्ध लिएर रम्न सकिन्छ  ।

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));