विश्व रेडियो दिवसको अवसरमा गठन गरियो ‘स्वतन्त्र रेडियो सहकार्य’

| फागुन १, २०८० मंगलबार

A A A
A A A

०१ फागुन, रामेछाप । विश्व रेडियो दिवस ‘२०२४’ को विशेष अवसर पारेर ‘स्वतन्त्र रेडियो सहकार्य’ (सिआरआई) गठन गरिएको छ । गठित यो समितिले वर्तमान परिस्थितिलाई समीक्षा गर्दै ५ बुँदे कार्य योजना समेत अगाडि सारेको छ । 

 

मंगलबार काठमाडौँमा भेला भएका देशका विभिन्न जिल्लाका रेडियोकर्मीहरूको भेलाले तत्कालको लागि नेपाल एफएम काठमाण्डौलाई संयोजकको जिम्मेवारी र सचिवालय समेत तोक्दै समिति गठन गरेको रामेछापबाट भेलामा सहभागी रेडियो झंकार ९७.५ मेगाहर्जका स्टेसन म्यानेजर युवराज श्रेष्ठले जानकारी दिए । 

 

पहिलो भेलाले वर्तमान अवस्थामा रेडियोहरूको साझा समस्याहरूलाई अङ्गीकार गर्दै आर्थिक स्रोत, रेडियो सामग्री, बजार र उत्पादन (समाचार, कार्यक्रम र गतिविधि) बाँडफाँडमा साझा रूपमा काम गर्ने उद्देश्य लिएको छ । 

 

(सिआरआइ) ले वर्तमान अवस्थामा रेडियोमा देखिएको संकट समाधानका लागि रेडियोहरू एउटै रेडियो अवधारणमा सामूहिक रूपमा काम गर्ने, यिनीहरूले उत्पादन तथा प्रसारण गर्ने समाचार, कार्यक्रम, विज्ञापन, सूचनाको आर्थिक स्रोतलाई सामूहिक वितरण गर्ने, खोज तथा अनुसन्धान, ज्ञान उत्पादन तथा व्यवस्थापन, इभेन्ट व्यवस्थापन, क्षमता विकास र स्थानीय सरकार सरलीकरणका लागि सञ्चार अभियान सञ्चालन गर्न योजना अगाडि सरहेको छ।

 

त्यस्तै लोककल्याणकारी विज्ञापन बापत कट्टा गर्ने ३ प्रतिशत कमिसन खारेजीको पहल गर्ने लगायतका कार्य अगाडि सारेको भेलापछि जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ । 

 

आज विश्व रेडियो दिवस

विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१२ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । 

 

‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ मूल नारासहित यो वर्ष मनाइँदै छ । नेपालमा २००३ सालमा रेडियो नेपालको प्रसारण सुरु भएपछि औपचारिक रूपमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालनमा आएपछि सुरु गरिएको हो । 

 

नेपालमा एफएम प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । करिब १३ सय रेडियोले इजाजत लिएको तथ्याङ्कमा देखिन्छ । तर, इजाजत लिएका सबै रेडियो सञ्चालनमा छैनन् । करिब ७ सय सञ्चालित रेडियोहरू मध्ये पनि हाल एक सय हाराहारी रेडियोहरू बन्द रहेको बुझिएको छ । 

 

रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रूपमा लिइन्छ । तर पछिल्लो पटक रेडियोका लागि पनि आर्थिक सङ्कट चुनौतीपूर्ण बन्दै गएको छ । त्यसै कारण कतिपय रेडियो बन्द भएका छन् भने अरू केही बन्द हुने अवस्थामा पुगेका छन् ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));