विद्यालय भवन उद्घाटन गर्न प्रदेशका फुर्सदिला ‘मान्य’को लर्को

| जेठ २, २०८० मंगलबार

A A A
A A A

२ जेठ, रामेछाप । एक विद्यालय भवन हस्तान्तरण हुनु विद्यालयको लागि र विद्यार्थीको लागि खुसीको कुरा हो । त्यो पनि नवनिर्मित, आधुनिक, भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न भवन । भवन निर्माण गर्ने कम्पनीलाई पनि खुसीकै कुरा भन्नु पर्छ जसले लामो समयको मेहनतपछि आफ्नो जिम्मेवारी पूर्ण हुन्छ । तर, यस्ता बनेका संरचनाहरू हस्तान्तरण सभामा उपस्थिति देखाउनको लागि जनप्रतिनिधिहरू भने तछाड्, मछाड् किन गर्छन् । त्यो सबैले बुझेकै कुरा हो ।

 

वडा देखि सङ्घीय सरकारका मन्त्री, सांसद्हरु जनताका कामलाई छोडेर रिबन काट्न र ताम्र पत्रमा नाम लेख्न किन यती धेरै मरिहत्ते गर्छन् त्यो उनीहरू आफै जानुन् । यस्तै विषय जोडिएको छ रामेछापको मन्थली नगरपालिका १ स्थित मन्थली माविको नवनिर्मित विद्यालय भवन हस्तान्तरण सभामा । राज्य शक्तिको भरपुर उपयोग गरी एकै मञ्चमा प्रदेशका मुख्य मन्त्री देखि पूर्व गृह राज्य मन्त्री, बहालवाला सांसदको लर्को नै लागेको छ। 

 

एसियाली विकास बैंक (एडिबी) को १५ करोड ८६ लाख ४७ हजार ५५३ रुपैयाँ लागत ऋण सहयोगमा बनेको ३६ कोठे सुविधा सम्पन्न भवन हस्तान्तरण एवं उद्घाटन गर्न प्रदेशका ‘प्रधानमन्त्री’ भनेर सम्बोधन गरिएका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, माओवादी केन्द्रका नेता समेत रहेका पूर्व गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’, बहालवाला रामेछापबाट प्रदेशमै प्रतिनिधित्व गर्ने सांसद तारानारायण श्रेष्ठ ‘बिगुल’, युवराज ‘चौलागाई’ र आनन्द श्रेष्ठ लर्को लागेर आएका हुन् ।

मुख्य मन्त्री र सांसदहरु विद्यार्थीबाट स्वागत लिंदै,तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

सुट्बुट्मा सजिएर सुरक्षा गार्ड, अगौटे÷पछौटे, नेता कार्यकर्ता सहित पुग्न भ्याएका फुर्सदिला प्रदेशका नेताहरू विद्यालय आफूहरूकै कारण बन्ने सम्भव भएको दाबी गर्न भ्याए । अझ गृह जिल्लाकै सांसद तारानारायण श्रेष्ठ चप्पल लाएरै कार्यक्रम सभामा पुगेका थिए । कार्यक्रममा जना धेरै हतार भएर लाउन भ्याएनन् वा लाउन चाहेनन् उनी आफै जानुन् । खैर सबै काम छोडेरै भए पनि कार्यक्रम स्थलमा पुगेरै छाडे । अझ सङ्घीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) समेतको नाम उद्घोष गरिएको थियो । तर, उनी कार्य व्यस्तताको कारण कार्यक्रममा आएनन् । 

मुख्य मन्त्री र सांसदहरु मिलेर पानसमा दीयो बालेर कार्यक्रम उद्घाटन गर्दै,तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

त्यसो त, बेला बखत एउटै ‘रिबन’ काट्न २ जना सांसद्हरु दौडिएर पुगेको चर्चा नभएका हैनन् । तर, प्रदेशका लाखौँ जनताको हजारौँ हजार सपना पूरा गर्छौँ भनेर आशा बाँडेर चुनाव जितेका सांसद्हरु भने फुर्सदिलो देखिएका हुन् । नगरका वडा अध्यक्षहरू देखि नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख, महाशाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख सबै उपस्थित ‘मान्य’ को लर्को नै लागेपछि स्वागत गर्न पुग्नै पर्‍यो । उक्त कार्यक्रममा तामझाम सहित मुख्य मन्त्री त आए नै सांसद्हरु पनि टल्किने गाडी चढेरै पुग्न भ्याए । 

 

तर, बिराइ सकेको बाटो भन्ने बित्तिकै कसरी सच्चिन्थ्यो र । मुख्य मन्त्री देखि सांसद्हरुले लाज पचाएर खिसिक्क हाँसेर टारे ।

 

यसरी तामझाम गरेर एउटा विद्यालय भवन उद्घाटनमै समय खेर नफाल्न र गणतन्त्रको गलत भाष्य नबनाउन एकिकृति समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं अधिवक्ता समेत रहेका झम्क कँडेलले मुख्य मन्त्रीको ध्यानाकर्षण नै गराए । तर, बिराइ सकेको बाटो भन्ने बित्तिकै कसरी सच्चिन्थ्यो र । मुख्य मन्त्री देखि सांसद्हरुले लाज पचाएर खिसिक्क हाँसेर टारे ।

 

अधिवक्ता कँडेलले हालको देशको स्थिति देखि शैक्षिक क्षेत्रमा देखिएको समग्र विकृतिको बारेमा चिच्याउन थालेपछि मन्त्री र सांसद्हरु टोलाउन मोबाइल चलाएर र मुखा–मुख गरेर टार्न थाले । समाजवादीका नेता कँडेलले खरो रूपमा यसरी ताम, झाम गरेर राज्य शक्तिको दुरुपयोग गर्ने परिपार्टीको अन्त्य गर्न मुख्य मन्त्री मार्फत सबैलाई आग्रह समेत गरे । साथै यस्ता उद्घाटन, हस्तान्तरण जिल्लाकै कुनै समाजसेवी, बुद्धिजीवी, अगुवा नेता कार्यकर्ताले गर्दा पनि हुन्छ, तपाईँहरूले दुख गर्न पर्दैन पनि भने ।

 

यता कार्यक्रम सञ्चालक नाराद कुमार थापालाई समेत मञ्च भरी मन्त्री र सांसदले भरिएको देखेपछि कसलाई बोल्न दिने कसलाई नदिने भन्ने व्यवस्थापन गर्न निकै सकस परेको देखिन्थ्यो । नागरिक स्तरका सङ्घसंस्था देखि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई पनि निमन्त्रणा गरेपछि बोल्न दिनै पर्‍यो । अझ राष्ट्रिय स्तरमा मान्यता नपाएको एकिकृत समाजवादी र राप्रपा नेपाल पनि स्टेजमै बोल्ने पालो कुर्दै थिए ।

मञ्चमा मुख्य मन्त्री, पूर्व गृह राज्य मन्त्री सांसदहरु,तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

पढ्नु पर्ने र खेल्नु पर्ने स–साना विद्यार्थीहरू पनि ३÷४ घण्टा देखि ताली पिट्दा र अनावश्यक राजनीतिक भाषण सुन्दा–सुन्दा थकित देखिन्थे । १५ सय भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीवी, समाजसेवी गरी २ हजार बढीको उपस्थिति भएको देख्दा सबै जना थोर–थोरै भए पनि बोल्न र आफ्ना कुरा राख्न खोज्नु सांसद्हरुलाई बाध्यता नै थियो । तर, उपस्थितहरूले मन्त्री र सांसद फुर्सदिला भएका भन्ने ‘गुणगान’ अघिल्लो तिर गर्न थालेको र कुर्सीहरू रित्तिँदै जान थालेपछि भने सबैको मिलाएर मुख्य मन्त्रीले मात्रै बोल्न थाले । 

आफ्नो धारणा राख्दै मुख्य मन्त्री जम्कट्टेल, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

सङ्घीयता खारेजीको आवाज प्रमुख प्रतिपक्ष दल एमाले मै सहित विभिन्न पार्टीले औपचारिक रूपमै गर्न थाली सकेको अवस्थामा यो असम्भव भएको धारणा बोले मुख्य मन्त्री जम्कट्टेलले । देश विकासको प्रमुख जिम्मेवारी नै प्रदेश भएको जिकिर सहितको धारणा राखेका जम्कट्टेलले सङ्घीयता चाहिँदैन भन्ने तत्त्वहरू विकास विरोधी भएको दाबी गरे । उनीहरू राजतन्त्रका मतियार भएको आक्रोश समेत पोखे ।  

 

विद्यालय भवन उद्घाटन र हस्तान्तरण पछि पनि मुख्य मन्त्री कट्टेल सहित सांसद्हरुको टोली रामेछाप बहु प्राविधिक शिक्षालय सानी मदौ पुगे, मन्थली नगर कार्यपालिकाको कार्यालय, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा भव्य स्वागतमा रमे । 

भेटघाट र स्वागतमा रम्दै मुख्य मन्त्री सहित सांसदहरु

आर्थिक वर्षको अन्त्य तिर आइपुग्दा सम्म बजेट खर्च स्थानीय तह देखि प्रदेशको न्यून छ । आर्थिक मन्दीले सबै तिर हा–हाकार मच्चिएको छ । त्यस्तो अवस्थामा निकै व्यस्त देखिनु पर्ने ‘मान्य’हरू फुर्सदिलो देख्दा नै थाहा हुन्छ, उहाँहरुबाटकति काम हुन्छ भन्ने राजनीतिक दलका एक नेता भन्छन् ।

 

देशले सङ्घीयता धान्न सक्दैन प्रदेश तत्काल खारेज गर्नु पर्छ । सङ्घीय र स्थानीय सरकारलाई अधिकार सम्पन्न गरेर अगाडि बढ्नु पर्छ भन्ने बहस चल्दा उनीहरूलाई यसरी ठुला, ठालु बनाइदिनको लागि खारेजी गर्न हुँदैन भन्दै भाषा दिएर हिँडेका हुन् ती नेता भन्छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));